फिल्मी फण्डा । आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा चलचित्र समीक्षा तथा चलचित्र पत्रकारितासम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ। अनामनगरस्थित सिलौटो कटेजमा जेठ २५ देखि २७ गतेसम्म सञ्चालन भएको तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध २५ जना पत्रकार सहभागी थिए।
चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने तथा समीक्षा लेखनलाई व्यावसायिक, जिम्मेवार र तथ्यपरक बनाउने उद्देश्यले आयोजित तालिममा चलचित्र समीक्षा लेखन, पत्रकारिताको वर्तमान अवस्था, समीक्षा लेखनका मापदण्ड, चलचित्रको कलात्मक तथा प्राविधिक पक्षको मूल्यांकन तथा जिम्मेवार सञ्चार अभ्यासलगायत विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिममा राजेश गङ्गाजु, अखण्ड भण्डारी र शान्ताराम बिडारीले सहजीकरण गरेका थिए।
समापन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी ले स्वस्थ समीक्षा र तथ्यपरक पत्रकारिताले नेपाली चलचित्र उद्योगलाई थप सशक्त बनाउन सहयोग पुग्ने बताए। उनले चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि बोर्डले आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
आयोजक आइडिया ग्रोभका अनुसार अन्तरक्रिया, अनुभव आदानप्रदान र अभ्यासमूलक सत्रसहित सम्पन्न तालिमले सहभागी पत्रकारहरूलाई चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिताको व्यावहारिक ज्ञान हासिल गर्ने अवसर प्रदान गरेको छ।