हलमा प्रदर्शनरत नेपाली फिल्ममध्ये ‘गौँथली’ले सर्वाधिक कमाइ गरेको छ भने ‘पेन्सन पट्टा’ दोस्रो स्थानमा उक्लिएको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको २५ असोजसम्मको विवरणअनुसार ‘गौँथली’ले २६ करोड २ लाख ७० हजार ५९० रुपैयाँ ग्रस कमाएको छ।
९ लाख ४४ हजार ६१२ वटा टिकट बिक्री गरेको ‘गौँथली’ यस वर्षको अहिलेसम्मकै सर्वाधिक कमाउने फिल्म बनेको छ।
यसैबीच, तीजको अवसरमा भदौ २६ गतेदेखि प्रदर्शनमा आएको ‘पेन्सन पट्टा’ले ९ करोड ८८ लाख ९२ हजार १८८ रुपैयाँ ग्रस कमाएको छ। फिल्मले ३ लाख ४७ हजार ८८२ वटा टिकट बिक्री गर्दै ‘लालीबजार’को ९ करोड ३२ लाख रुपैयाँको कमाइलाई पछाडि पारेको हो।
कमाइको सूचीमा ‘बाः एक योद्धा’ तेस्रो स्थानमा छ। फिल्मले ३ करोड ५ लाख २२ हजार ५०२ रुपैयाँ ग्रस कमाएको छ। पछिल्लो सात दिनमा मात्रै यसको कमाइ १ करोड १२ लाख १६ हजार रुपैयाँभन्दा बढी रहेको बोर्डको विवरणमा उल्लेख छ। फिल्मका १ लाख ७ हजार ५३३ वटा टिकट बिक्री भएका छन्।
अन्य फिल्ममध्ये ‘आचार्य’ले १ करोड ६२ लाख २७ हजार ९४६ रुपैयाँ, ‘झिँगेदाउ २’ले १ करोड ४६ लाख १२ हजार ९१६ रुपैयाँ र ‘एलिफेन्ट्स इन द फग’ (तिनीहरू)ले १ करोड ३१ लाख ६० हजार ५४५ रुपैयाँ ग्रस कमाएका छन्।
त्यसैगरी, ‘चमेलीको पोइ’को कमाइ ५ लाख ५० हजार २१० रुपैयाँ र ‘चंगुल’को १ लाख ३८ हजार ३८० रुपैयाँ रहेको छ।
