फिल्मी फण्डा। लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित नेपाली चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को सार्वजनिक गीतले दर्शकहरूबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। युट्युबमा रिलिज गरिएको ‘म फूल हुँ कि काँडा’ बोलको गीतले शतप्रतिशत सकारात्मक प्रतिक्रियासहित व्यापक चर्चा पाइरहेको छ।
गीतजस्तै चर्चाको केन्द्रमा अभिनेता नाजिर हुसेनको दमदार अभिनय रहेको छ। तेस्रोलिंगी महिलाको भूमिकामा देखिएका नाजिरलाई ‘वा! के अभिनय!’ भन्दै चौतर्फी प्रशंसा गरिएको छ। उनी प्रस्तुत पात्रमा यति फिट देखिएका छन् कि धेरैले उनलाई चिन्न समेत सकेनन्। “साँच्चै भन्नु पर्दा मैले पुरै भिडियोमा नाजिरलाई चिन्न सकिन,” रिसभ आले लेख्छन्, “दोस्रोपटक हेरेपछि चिनेको थिएँ।”
नाजिरको अद्वितीय प्रस्तुती देखेर युट्युब प्रयोगकर्ता विजय थापा लेख्छन्, “नाजिर तिमी एक महान बहुमुखी अभिनेता हौ। उत्कृष्ट पात्रहरूमा अभिनय गरिरहनु, विवादहरूबाट सावधान रहनु। तिमी एकदिन महान कलाकार बन्नेछौ।”
गीतमा लेखु सहयात्रीको शब्द र संगीत छ भने स्वर मनिषा पोखरेलको रहेको छ। भिडियोमा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायत कलाकारको पनि अभिनय देख्न सकिन्छ।
समुन्द्र भट्ट निर्देशित चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गतेदेखि प्रदर्शनमा आउनेछ। चलचित्रमा ट्रान्सवुमनको जीवन, संघर्ष र पहिचानको कथा प्रस्तुत गरिएको छ। यसले नेपाली सिनेमामा लैंगिक विविधताको प्रतिनिधित्व गर्दै फरक स्वाद दिन खोजेको छ।
नेपालको पहिलो पूर्ण ट्रान्स स्टोरीमा आधारित यो चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सन कार्य विदेशमा गरिएको छ। एडिट, मिक्सिङ, कलर, साउन्ड डिजाइनलगायतका काम हलिउड शैलीमा सम्पन्न भएका छन्। चलचित्रमा ‘ग्ल्याडिएटर–२’ की गायिका लिजा जेरार्डको स्वर र मार्सेलो दी फ्रान्सिसीको ब्याकग्राउन्ड संगीत रहेको छ।
‘गुन्यु चोलो : द ड्रेस’ नेपाली फिल्म र हलिउड प्रोडक्सन हाउसको संयुक्त सहकार्यमा बनेको हो। यसको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले लिएको छ।
नेपालको समकालीन सिनेमामा विविधताको नयाँ ढोका खोल्न लागेको यो चलचित्र दर्शकको उत्साहले उत्साहित देखिएको छ।