काठमाडौँ फिल्म फेस्टिभलमा शवाना आजमीदेखि मार्को मुलरसम्म

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म आयोजना गर्ने काठमाडौँ फिल्म फेस्टिभलमा भारतीय अभिनेत्री शवाना आजमी, प्राध्यापक मार्को मुलर, जापानी निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हालगायत अन्तर्राष्ट्रिय हस्ती सहभागी हुने भएका छन्।

फेस्टिभलमा अन्तर्राष्ट्रिय तथा नेपाली फिल्म प्रदर्शन, मास्टर क्लास, प्यानल छलफल, अन्तरसंवाद, रेड कार्पेट, सम्पदा यात्रा र अवार्ड समारोह आयोजना गरिनेछ। अभिनेत्री आजमीले फिल्म र जीवनका अनुभवबारे अन्तरसंवाद गर्नेछिन् भने मुलरले फिल्म सौन्दर्यशास्त्र र अन्तर्राष्ट्रिय फेस्टिभलसम्बन्धी मास्टर क्लास सञ्चालन गर्नेछन्।

नेपाली फिल्मको इतिहास संरक्षण गर्ने उद्देश्यले ‘कुमारी’ र ‘के घर के डेरा’ विशेष प्रदर्शन गरिनेछ। अन्तर्राष्ट्रिय पानोरामाअन्तर्गत विभिन्न देशका फिल्म पनि देखाइनेछन्।

फेस्टिभलको नेपाल प्यानोरामा सर्ट्स विधामा ७५ फिल्ममध्ये १० वटा छनोट भएका छन्। प्रत्येक फिल्मलाई एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिइनेछ। त्यस्तै, ‘माई कल्चर, माई हेरिटेज’ सर्ट भिडियो च्यालेन्जमा ३५ मध्ये ११ भिडियो छनोट भएका छन्। उत्कृष्ट तीन भिडियोलाई क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

काठमाडौँको मौलिकता, सांस्कृतिक सम्पदा र स्थानीय कथालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्नुका साथै नेपाली फिल्मकर्मीलाई विश्व सिनेमासँग जोड्ने उद्देश्य फेस्टिभलले राखेको छ। फिल्म प्रदर्शन निःशुल्क हुनेछ भने सिट सुरक्षित गर्न निःशुल्क टिकट लिनुपर्नेछ।F_P01466.jpg


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech